विराटनगर, १८ भदौ–सुनसरीको धरानस्थित वीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ स्थित सप्तरीको राजविराज–७ का ५५ र ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कमजोरी, रक्त अल्पता र मधुमेहको समस्या नियन्त्रण हुन नसकेपछि मृतक ५५ वर्षिय पुरुष गत भदौ ४ गते सप्तरीको छिन्नमस्ता अस्पतालबाट रेफर भई आएका थिए । उनलाई तत्काल मेडिसिन वार्डमा राखेर उपचार सुरु गरिएकोमा भदौ ७ गते कोरोना पुष्टि भएपछि ८ भदौमा प्रतिष्ठानको कोडिड–१९ उपचार केन्द्रमा सारिएको थियो । प्रतिष्ठानको कोभिड–१९ उपचार केन्दको आईसियुमा उपचाररत उनको बिहिबार १.१५ बजे मृत्यु भएको हो ।
मृतक पुरुष विगत १५ वर्षदेखि उच्च रक्तचाप र मधुमेहको दिर्घरोगी रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । त्यसैगरी राजविराज–७ कै अर्का ५० वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, श्वास प्रश्वासमा समस्या र ४ दिनदेखि शरिर शिथिल भई बिहिबार राजविराजबाट सिकिस्त अस्थामा रेफर भई आएका उनलाई अस्पतालको इमेरजेन्सीमा १.२० बजे भर्ना गरिएकोमा उपचारकै क्रममा २.०२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।
उनले कोरोना पोजेटिभ देखिएका मृतक पुरुष मधुमेहका दिर्घरोगी रहेको जानकारी दिए । मृतक दुवै जनाको शव व्यवस्थापनको तयारी नियम अनुसार भइरहेको प्रवक्ता डा. सापकोटाले बताए ।