संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठनपाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाइलाई जोड दिनुपर्ने बताएका हुन् ।
उनले वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यतालाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले बन्दाबन्दीकाे समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाइ शैक्षिकसत्रसँग जोडिने र शैक्षिकसत्रको गणना हुने जानकारी गराउँदै सोहीअनुसार वैकल्पिक सिकाइलाई स्थानीय सरकारले जोड दिनुपर्ने बताए ।
‘प्रत्यक्ष कक्षा कोठामा उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन । असामान्य परिस्थितिमा असामान्य ढंगले हाम्रा मान्यता विकास गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तिनीहरूले भोलि सामान्य परिस्थितिका लागि पनि योगदान दिन सक्दछन् ।’