यसअघिका वर्षमा यस दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा मन्दिहरूमा वैदिक सनातन धर्मावलम्बीकाे घुइँचाे लाग्ने गरे पनि यस वर्ष निकै कम श्रद्धालु देखिएका छन् ।
यस वर्ष कोरोना भाइरसको संक्रमणाका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ भने कुनै पनि सभा, समारोह वा उत्सवमा भौतिक दूरी कायम गरी २५ जनाभन्दा कम उपस्थित हुनुपर्ने नियम छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकाे थियाे । तर, यस वर्ष यी क्षेत्रमा भीडभाड छैन ।
किन महत्त्वपूर्ण छ याे दिन ?
याे पर्व सत्ययुगकाे कथासँग सम्बन्धित छ । सत्ययुगमा दानवले लखेटेका देवताहरूलाई गुरु बृहस्पतिले मन्त्रिएर लगाइदिएकाे यज्ञाेपवीतका कारण देवताहरूकाे रक्षा भएकाे भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन पर्व सुरू भएकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।
उनका अनुसार मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन् । ब्राह्मण, क्षत्री र वैश्यले यसै दिन आफ्नो जनै फेर्ने गरेका छन् ।
क्वाँटी खाने दिन
आज क्वाँटी खाने दिन पनि हाे । काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर-घरमा एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । खासगरी नेवार समुदायमा याे प्रचलन छ । यद्पि, पछिल्लो सयम सबै समुदायको यसको लोकप्रियता बढेको छ।
मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रणबाट बनेकाे क्वाँटी खाँदा शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न पनि याे उपयोगी बताइन्छ ।
राखी बाँध्ने दिन
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध प्रागाढ हुन्छ भन्ने सामाजिक विश्वास छ । केही वर्षअघिसम्म याे पर्वका अवसरमा विदा दिने गरिए पनि अहिले यस्ताे विदा कटौती गरिएकाे छ ।