एजेन्सी, साउन १८-भारतको पञ्जाव राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा पञ्जाव प्रान्तका उत्तरी क्षेत्रका ३ जिल्लाका व्यक्तिहरू रहेका छन् । प्रहरीले अवैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।
भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौँ व्यक्तिको ज्यान जाने गरेको छ । अवैध यस्तो मदिरा स्थानीय बजारमा प्रतिलिटर भारु १० मै पाइने गरेको छ ।
प्रहरीका अनुसार पञ्जावको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ । यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।
केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको संख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ । पञ्जाव प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिएको जानकारी दिए । उनले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताए ।