काठमाडौं, १७ असार-पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपाको जारी विवादका बारेमा बोल्दै ‘प्रोक्सी वार’ बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको परामर्श बैठकमा सहभागी भएपछि निस्केर भट्टराईले विवाद सकारात्मक दिशामा जाने आशा गर्दै ‘प्रोक्सी वार’ बन्द गर्न आग्रह गरेका हुन् ।
पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरूलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको जानकारी दिँदै उनले निस्केर भनेका छन्, ‘बाँकी नेता र सदस्यहरूसँगै पनि परामर्श गर्ने प्रधानमन्त्रीले बताउनुभयो, जुन सकारात्मक छ ।’ उक्त बैठकमा सहभागीहरूसँग प्रधानमन्त्री ओलीलाई पार्टी एकता बचाउन सुझाव दिएको भट्टराईले जानकारी दिए ।