काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् ।
जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक सञ्जालवाट सो टिप्पणी गरेका हुन्।
उनले बदनाम, आक्रमण र ध्वस्तको रणनीतिअन्तर्गत ओलीमाथि आक्रमण गरेको पनि निष्कर्ष निकालेका छन् । ‘प्रधानमन्त्रीका कमजोरी होलान् तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट शृङ्खला हुन्,’ बाँस्कोटाले ट्विटरमा भनेका छन्, ‘बदनाम, आक्रमण र ध्वस्तः चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ ।’
तर, प्रधानमन्त्री ओलीमाथि आक्रामण गर्नेले आफूमाथि पनि आक्रामण हुन सक्नेप्रति सचेत हुनसमेत उनले आग्रह गरेका छन् । ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ,’ उनले भनेका छन् ।