पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ ।
पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।
फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो ।
यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले अभियानबाट पछाडि हटेका थिए ।
अदालतले पूर्वप्रधानमन्त्री फिलोनलाई ५ र पेनिलपलाई ३ वर्ष जेल सजायसहित दुवै जनालाई ३ लाख ७५ हजार यूरो जरिवाना तोकेको छ । साथै गैर–कानूनीरूपमा लिएको उक्त १० लाख यूरो राष्ट्रियसभालाई फिर्ता गर्न निर्देशन पनि अदालतले गरेको छ ।