विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण प्रहरीको हिरासतमा मारिएका शम्भु सदा र बलात्कारपछि बीभत्स हत्या गरिएकी अंगिरा पासीको न्यायका निम्ति सत्तरुढ दल नेकपाको जनवर्गिय संगठन नेपाल दलित मुक्ती संगठन इटहरीले दवाबमुलक सभा आयोजना गरेको हो ।
रुकुम हत्याकाण्डको १ महिना पुगेको दिन बुधबार संगठनले इटहरीमा केन्द्रीय सर्कुलर अनुसार प्रदर्शन गरेको हो । सो हत्याकाण्डमा ज्यान गुमाएका नवराज बिक, टिकाराम सुनार, सन्दिप बिक, लोकेन्द्र सुनार, गणेश बुढा, गोबिन्द शाही लगायत दलित भएकै कारण हत्या गरिएका शम्भु सदा र अंगिरा पासीको न्यायका निम्ति दवाबमुलक कार्यक्रमको आयोजना गरिएको हो ।
विरोधसभामा संविधानसभा सदस्य तथा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य अनिता परियारले हत्यामा ज्यान गुमाउनेहरुले न्याय नपाउञ्जेल संगठनले निरन्तर खबरदारी गरिरहने बताइन् । उनले अनेक षड्यन्त्र गरेर न्याय ओझेलमा पार्न खोजिए शसक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिइन् ।
त्यस्तै संगठनका केन्दीय सदस्य डिबि शाहसंखर ले संविधानले ज्ञायारेन्टी गरेको दलितका हक अधिकार र न्यायलाइ व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै दलितको मुद्दामा गैरदलितले समेत बोल्नुपर्ने बताए । उनले दलितका सवालमा दलित समुदायले मात्र नबोली न्यायप्रेमी सिंगो गैरदलित समुदायले पनि साथ दिनुपर्ने बताए । शाहसंखरले अब कुरिती र गलतसाँस्कृतिक चेतना भत्काउनु पर्ने भएकाले सिंगो दलित समुदाय एकजुट बन्नुपर्नेमा जोड दिए ।
उनले दलित समुदाय अधिकार र न्याय प्राप्तीका लागि एकतावद्ध हुनुपर्नेमा व्यक्तिगत प्रचारप्रसारको स्वार्थमा टुक्रीएकाले न्याय खतरामा परेको दावी गरे । प्रदर्शनमा दलित मुक्ति संगठनकाका केन्द्रीय सदस्यहरु, विभिन्न पेशागत संगठनका नेतृत्वहरु, प्रतिनिधिहरु, जिल्ला तथा नगरका नेताहरु, समाजिक अगुवा, बुद्धिजिवि, जनप्रतिनिधि लगायत दलितमैत्री गैरदलित समुदायका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । दवावमुलक सभाको सन्दर्भमा संयुक्त दलित संघर्स समितिका संयोजक गौरिमान परियारले प्रष्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन संयुक्त दलित संघर्स समितिका सचिव शान्ति गजमेरले गरेकी थिइन् ।