डडेल्धुरा, ८ असार-दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्काई फोन सेवा सुरु भएको छ । ७ महिनादेखि अवरुद्ध रहेको व्यास गाउँपालिका-१ छाङ्गरुको स्काई फोन सेवा सोमबारदेखि सुचारु भएको हो ।
हिमपातका कारणअवरुद्ध बनेको फोन सेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। ‘हिमपातका कारण टेलिफोन टावरको एलएम जी, एन्टिना लगायतमा क्षति पुगेको रहेछ । टेलिफोन नहुँदा स्थानीय सञ्चार सम्पर्कविहीन भएका थिए’ उनले भने, ‘टेलिफोन टावर बनाउन जान नेपालतिर बाटो थिएन । त्यही भएर समस्या भएको थियो । अब सुचारु भयो ।’
गत ३ असारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आइजीपी शैलेन्द्र खनाल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदी व्यास क्षेत्रको निरीक्षण भ्रमणमा जाने बेला टेलिकम प्रमुख गुरुङ सोही हेलिकोप्टरमार्फत् व्यास पुगेका थिए ।
व्यास पुगेको १ सातापछि टेलिफोन सेवा सुचारु भएको हो । व्यासमा भाइनेटले इन्टरनेट सुचारु गरे पनि फोन सम्पर्क भने हुन सकेको थिएन । अब भने व्यासका स्थानीय इन्टरनेट र फोन सेवाको पहुँचमा पुगेका छन् ।
व्यासमा नमस्तेको टावर सञ्चालनको लागिसमेत काम भइरहेको व्यासका स्थानीय योगेश बोहराले बताए । भारतले सीमावर्ती क्षेत्रमा सञ्चार विस्तारमा ध्यान नदिए पनि नेपालले भने भारत-चीनसँग सीमा जोडिने व्याससम्मै सञ्चारको पहुँच पुर्याएको छ ।