जनकपुरधाम, २३ जेठ-‘दूधमती नदीलाई संरक्षण गराैँ, नदीमा माछा मार्न निषेध’ नारासहित यहाँका केही युवा जनकपुरधामको ऐतिहासिक दूधमती नदी संरक्षणमा सक्रिय भएका छन् । जनकपुरधाम-२२ का युवाहरूले दूधमती नदी संरक्षणका लागि ठाउँठाउँमा सन्देशमूलक पेन्टिङ गरिरहेका छन् ।
पर्यावरण दिवसमा कोही वृक्षारोपण गरिरहेका छन्, कोही सरसफाई । सामुदायिक विद्यालयमा शिक्षकसमेत रहेका दूधमी संरक्षण अभियानी सुदीप मण्डलले दूधमती बचाउन सफाई, जनचेतना र विकास कार्य बढाउनुपर्ने बताए ।
नालामा परिणत भइरहेको बेला सो नदीको सुधारका लागि स्थानीयले निरन्तर माग राख्दै आएका छन् । जनकपुरधाम-२२ बसविट्टीका युवाहरूले गत ३२ सप्ताहदेखि सो नदीमा सफाई अभियान सुरू गरेका छन् । यो अभियानले सो क्षेत्रमै प्रभावकारी कार्य अघि बढीरहेको पर्यावरण अभियानी विमलेश मिश्रले बताए ।