हेटौंडा, २२ जेठ-‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरको सयुक्त टोलीले उद्योगमा सिल गरेको हो ।
उद्योगले उत्पादन गरेको मिनरल वाटरमा फोहोर भएको भन्ने उजुरी परेपछि उद्योगमा सिल गरिएको खाद्य प्रविधिका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।
‘उपभोक्ताले गुनासो गरेपछि उद्योगको अनुगमन गरियो । पानि फिलिङ्ग गर्ने मेसिन र रिभव राओ मेसिन बिग्रिएको अवस्थामा पायौं, त्यसैले उद्योगमा सिल गरेका हौं’, रिजालले भने ।
उद्योगमा कार्यरत मजदुरहरुले मेसिन बिग्रिएको कारण हातले नै बोतलमा पानी भरिरहेको अवस्थामा अनुगमन टोली पुगेको थियो । लकडाउनको समयमा सञ्चालित उद्योगले कुनै किसिमको सुरक्षा नअपनाएको खाद्य प्रमुख रिजालले बताए । उद्योगले लापरबाही गर्दे मानव स्वास्थ्यमा खेलबाड गर्न खोजेको उपभोक्ताहरुको गुनासो छ ।
नेचुरल वेभरेजले उत्पादन गरेको मिनरल वाटर प्रयोग तथा बिक्री वितरण गर्नसमेत खाद्य तथा गुण नियन्त्रण कार्यालयले रोक लगाएको छ । अनुगमन टोलीले उद्योगको उत्पादन कक्ष, प्याकिङ कक्षसहित स्टोरमा पनि सिल गरेको छ । उद्योगमा रहेको ३ सय ३७ कार्टुन तयारी अवस्थाका मिनरल वाटर बिक्रीमा रोक लगाइएको छ ।