विराटनगर, जेठ १८–प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिनको माग गरेको छ ।
आज प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका तर्फबाट संसदको विशेष सममा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रणका काममा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
कार्कीले प्रदेश सरकारले राहतका लागि गठन गरेको जनसुरक्षा कोषको रकममा ब्रह्मलुट मच्चाएको र कोषलाई प्राप्त भएको जिन्सी सामानसमेत हिनामिना गरेको आरोप लगाए । क्वारेन्टाइनको व्यवस्थापनमा सरकारले चरम लापरवाही गरिरहेको समेत कार्कीले बताए ।
उनले क्वारेन्टाइन नै कोरोना सार्ने यन्त्र बनेकाले जनता क्वारेन्टाइन देखि डराउन थालेको बताए । कार्कीले कोरोनालाई देखाएर मन्त्री धनी हुने र जनता भोकै मर्ने अवस्था आएको दाबी गरे ।