काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने नागरिकको आर्थिक अवस्था र क्षमता वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने मन्त्री मानन्धरले बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने केही नाकाहरुमा क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको बताउँदै सरकारले आवश्यक सहजीकरण गरिरहेको मन्त्री मानन्धरले बताए । केही स्थानमा समस्या देखिएपनि अधिकांश स्थानका क्वारेन्टिनहरुको व्यवस्थापन सहज र व्यवस्थित रहेको बताउँदै मन्त्री मानन्धरले देशभरका होटल तथा रिसोर्टहरुलाई पनि क्वारेन्टिन स्थल बनाउन सकिने बताए ।
सरकारले आवश्यक परे देशभरका होटल तथा रिसोर्ट र लजहरु प्रयोग गर्न सक्ने बताउँदै मन्त्री मानन्धरले विपद्का बेला सबैले साथ र सहयोग गर्नुपर्ने बताए । देशभर २० देखि ३० हजार होटलका कोठाहरु रहेको र लज तथा रिसोर्टहरुका कोठाहरुसमेत प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।