काठमाडौं, जेठ १२-सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ । यस प्रणालीमा आबद्ध सबै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ ।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने पनि बताए । त्यस्तै अपांगता भएका व्यक्ति वा एकल महिला कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तामा कटौती नहुने भएको छ । उनले भने, ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ भन्ने मान्यतामा सरकार दृढ छ ।’ स्थापनाकालदेखि नै सामाजिक सुरक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिएको सरकारले यसलाई नयाँ युगको सुरुवात भन्दै आएको छ ।
सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउने बताइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बताएकी हुन् ।