काठमाडौं, ६ जेठ-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्र उठाउन सामान्य मिहिनेतबाट उठाउन सम्भव नहुने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार गरेको वेबिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाउनुपर्ने बताए ।
‘महामारीका कारण समस्या कृषि क्षेत्र नै बढी संकटमा छ भने समाधान पनि कृषि क्षेत्रबाटै संभव देखिएको छ’ मन्त्री भुसालले भने, ‘त्यसका लागि राज्यको भूमिका बढाउनुपर्ने हुन्छ ।’ उनले सरकारले यो क्षेत्रमा बजेट बढाएर ल्याउने बताए । ‘कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको अनि ६० प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्रलाई २ प्रतिशत जति बजेट छुट्याएर मात्रै पुग्नेवाला छैन’ उनले भने।
महामारीका कारण सम्भावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको उनले बताए । मन्त्री भुसालले तत्कालीन समस्या मात्रै नभएर कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि नै मन्त्रालयले ‘सुरक्षित कृषि, सुनिश्चित बचत’को कार्यक्रम ल्याएको बताए ।