काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने दिन शुक्रबार सांसद मात्रै नभई २९ भन्दा बढी विशिष्ट तथा सरोकारवाला व्यक्ति पनि सदनको बैठकमा उपस्थित हुनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम दिउँसो ४ बजे सदनमा पेस गर्ने कार्यतालिका छ । वर्षमा २ पटक संयुक्त सदन बस्ने गर्छ । संयुक्त सदनमा नीति तथा कार्यक्रम र बजेट पेस गर्ने दिन रहेका छन् । यस हिसाबले प्रतिनिधिसभाको सभाहल शुक्रबार भरभराउ रहनेछ ।
तर, प्रतिनिधि र राष्ट्रियसभाका केही सदस्य भने पीसीआर परीक्षण नगरेका कारण शुक्रबार सदनमा प्रवेश पाउने छैनन् । निलम्बनमा परेकासहित राष्ट्रियसभा र प्रतिनिधिसभाका ११ जना सांसदले बैठकमा उपस्थित नहुने संसद सचिवालले जनाएको छ । निलम्बनमा परेका सांसदमा ४ जना हरिनारायणप्रसाद रौनियार, मोहम्मद अफताव आलम, रेशम चौधरी र विजयकुमार गच्छेदार छन् ।