काठमाडौं, १ जेठ-नेपाल कम्यनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरसमाथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आईसीटी टीओटी विषयको प्रशिक्षण कार्यक्रमको बिहीबार बिहान उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कार्यक्रम उद्घाटन गर्दै भनेका कुरा उद्धृत गर्दै संगठनका अध्यक्ष शंकर भण्डारीले भने, ‘कोरोना भाइरसमाथि मानव जातिले विजय प्राप्त गर्नेछ । यही विजयको बिन्दुबाट नयाँ राज्य व्यवस्था पनि ल्याउनेछ । अहिले चलेको राज्यव्यवस्था लगभग असफल भएकाले अब समाजवादी राज्य व्यवस्था नै यसको विकल्प हो ।’
प्रचण्डले अहिलेको संकटको समयमा नेपालमा पनि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको समेत बताए । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले कोरोनाको महामारीका बीच राष्ट्रियताको विषय पेचिलो भएर आएको र यसको हल गर्नुपर्ने बताएका थिए । उनले भने, ‘विश्वभरि कोरोनाको महामारी फैलिएको छ । लकडाउन जारी छ । छिमेकीले हाम्रो भूमिमा सडक बनाएको छ । यो समयमा राष्ट्रियता प्रमुख बनेर आएको छ । समस्याको समाधान गर्नुपर्छ ।’