प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापीरूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मलेन गरी कोरोनाविरुद्धको सङ्घर्षमा यसबीचमा के उपलब्धि भए र के कमजोरी रहे त्यसको वस्तुगत समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्न जरुरी रहेको बताए ।
कांग्रेसले यस अवधिमा जिम्मेवार प्रतिपक्षका रूपमा सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ भन्ने नीति तय गरेर कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न हरसम्भव सघाउने कार्य गरेको उनले उल्लेख गरे । प्रवक्ता शर्माले भने, ‘अत्यावश्यक स्वास्थ सामग्री पर्याप्त व्यवस्था गर्न, जरुरी सम्पूर्ण क्षेत्रलाई राहतको उचित प्रबन्ध गर्न र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने प्रक्रिया तत्कालै थालनी गर्न काँग्रेसले यो अवधिमा निरन्तर सरकारलाई सुझाव र दबाब दिइरहेको छ ।’
विभिन्न क्षेत्रका विज्ञसँग जरुरी परामर्शका अतिरिक्त कोरोनापछिको नेपालको अर्थतन्त्र बारे दूरगामी दृष्टिकोण निर्माण गर्न कांग्रेसले यस बीचमा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ समेत गठन गरेर गहिरो अध्ययनसमेत प्रारम्भ गरिसकेको छ ।