काठमाडौं, २२ वैशाख-होटल एसोसिएसन अफ नेपाल (हान)ले कोरोनाको कारण देखाउँदै दशैँसम्म सबै होटल बन्द गर्ने प्रस्ताव सरकारलाई गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण तत्काल होटल सञ्चालन गर्ने सक्ने अवस्था नदेखिएको भन्दै दशैँसम्म बन्द गर्ने प्रस्ताव गरेको हानले जानकारी दिएको छ ।
हानले आफ्ना सदस्य रहेका ३ हजार पर्यटकस्तरका होटलहरू १ वैशाखदेखि ६ महिनासम्म बन्द गर्ने प्रस्ताव सरकारलाई गरेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । कोरोना भाइरसका कारण दशैँसम्म होटल सञ्चालन गर्न सक्ने अवस्था नरहेको र तत्काल होटल बन्द गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हानका प्रथम उपाध्यक्ष शाहले बताए ।
‘होटल बन्द गर्दा ६ महिनासम्म मजदुरलाई १२.५ प्रतिशत तलब मात्र दिने प्रस्तावसमेत सरकारसँग हानको छ । मजदुरले सेवा शुल्कबापतको १० प्रतिशत रकम भने पाउनेछन् । २ महिनादेखि होटल बन्द छन् । करिब २ खर्ब रूपैयाँ नोक्सान भएको छ । होटल क्षेत्रमा कार्यरत ९ लाख श्रमिकलाई तलब खुवाएर राख्नुपर्ने अवस्था छ’, उनले भने ।
श्रमिक र व्यवसायीको जोखिमलाई ध्यानमा राखेर होटल दशैँसम्म बन्द गर्ने हानको निर्णय भएको उनको भनाइ छ । यस विषयमा सरकारले आधिकारिक निर्णय गर्छ भन्ने आसमा हान रहेको उनले बताए । श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सबै सदस्य होटलले श्रम ऐन, २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रूपमा बिदा दिनेसमेत हानले निर्णय गरिसकेको छ ।