एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट नियालिरहेको उनको भनाइ छ ।
उनले उत्तर कोरियामा कोरोना भाइरसको महामारी या भोकभरीको समस्या भएको हुनसक्ने भन्दै चासो समेत व्यक्त गरेका छन् । ११ अप्रिलमा अन्तिम पटक सञ्चारमाध्यममा देखिएका ३६ वर्षीया किमको १२ अप्रिलमा मुटुको शल्यक्रियापछि गम्भीर बिरामी रहेको खबर बाहिर आएका थिए ।
त्यसयता उनी १५ अप्रिलमा संस्थापक नेता तथा हजुरबुबा किम इल सुङको जन्मोत्सवमा समेत सहभागी नभएपछि विश्वप्यापी चासो बढेको छ । तर अधिकारीहरुले किमको स्वास्थ्यका बारेमा आएका समाचारहरु गलत रहेको र उनी जीवित र स्वस्थ रहेको दाबी गर्दै आएका छन् ।
उत्तर कोरियाका सर्वोच्च नेता कि वोनसानमा रहेको रिसोर्टमा आफूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि बसिरहेको दाबी समेत गरिएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि जनवरीको अन्त्यमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो ।
अमेरिकी विदेश मन्त्री पोम्पेओले फक्स न्यूजसँग कुरा गर्दै भनेका छन्, ‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन । हामीले नजिकबाट नियाली रहेका छौँ ।’
उत्तर कोरियाका सबै गतिविधि र चासोमाथि अमेरिकाले नजिकबाट नियाली रहेको उनको भनाई थियो । दुई दिनअघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको अवस्थाबारे आफू जानकार रहेको बताएका थिए ।