उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ ।
गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरूले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकालले जानकारी दिए ।
‘गरिब मजदुरले पाएको राहत सबै खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ,’ उनले भने ‘गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन पनि सकियो ।’
स्थानीय कुमार भट्टराई अहिले आफूहरूले कष्टकर जीवन भोग्न परेकोको दुःखेको व्यक्त गरे । ‘बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । गाईवस्तुलाई खुवाउने घाँस पनि छैन,’ उनले भने ।