उदयपुर, वैशाख १३-उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मुस्लिम समुदायका २८ जनामा कोरोना संक्रमित भेटिएपछि यहाँका राजनितिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।
कोरोना भाईरस (कोभिड १९) को संक्रमणले उदयपुर जोखिममा परेकाले केन्द्र सरकारले तत्काल खतमा परेको बस्तीहरुको स्वाब संकलन गरी उदयपुरमा नै परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्रियुगा नगरपालिका ३ भुल्के डेन्जोर जोन बनेको भन्दै विशेष चासो दिएर उदयपुरमै स्वाब परीक्षण हुनुपर्ने माग गरेको छ ।
संकलित स्वाबलाई परीक्षणका लागि धरान, विराटनगर तथा काठमाडौं पठाउने गरिएकोमा तत्काल उदयपुरमा नै परीक्षण तथा उपचार गर्न संघीय सरकारको ध्यानाकर्षणका लागि संयुक्त रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष बिनोदकुमार कटुवाल, सचिव ईश्वरमणि राउत, नेपाल कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेत, तत्कालिन राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादव (राहुल) समाजवादी पार्टीका उदयपुर अध्यक्ष केशब मगरलगायतले संयुक्त बैठक बसि विज्ञप्ति प्रकाशित गरी माग गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकाललाई सम्र्पक गरी उदयपुर जिल्लामा केन्द्रीय स्तरको विशेषज्ञ टोली खटाउन र कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन जडान गर्न अनुरोध गरेको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका अध्यक्ष बिनोदकुमार कटुवालले जानकारी दिए । स्वास्थ्यमन्त्री ढकालले पीसीआर मेसिन जडानको व्यवस्था मिलाउने आश्वासन दिएको बताए ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई उदयपुरलाई उच्च प्राथमिकतामा राखी कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह गरिएको जनाएको छ । जिल्लामै कोरोना परीक्षण ल्याब स्थापना गर्नु पर्ने र पर्याप्त किट उपलब्ध गराउनुपर्ने भनिएको छ । पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै दक्ष जनशक्ति अभाब रहेको दक्ष जनशक्ति पठाउन संघीय सरकारसँग आग्रह गरेका छन् ।