प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको समयमा पनि सरकारको कामप्रति भएको विरोध बुझ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीटरमा सरकारको काममा हजारौँले कालो झण्डा देखाएको हेर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सरकारले सोमबार राजनीतिक दल फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदबाट हुने निर्णयमा प्रमुख प्रतिपक्ष नचाहिने गरी अर्को अध्यादेश जारी गरेसँगै सरकारप्रतिको असन्तुष्टि बढेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको फैलावट रोक्नका लागि सरकारले ११ चैतदेखि देशमा लकडाउन लगाएको छ । यसै समयमा सरकारले गरेको निर्णयको विरोध कतिपयले सामाजिक सञ्जालमा कालो झण्डा पोष्ट्याएर गरेका छन् ।