रुपन्देही, ५ बैशाख-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजीकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन् ।
बन्दाबन्दीका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आआफ्ना घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा परेका छन् ।रासस