हुम्लाका ४ गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्यपिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले शंकास्पद ६१ पुरुष र ७ महिलाको द्रुत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । उनका अनुसार सिमकोटका २९, नाम्खाका २५, ताजाकोटका ८ र अदानचुलीमाका ६ गरी ६८ जनाको द्रुत परीक्षण गरिएको थियो ।
यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्यापिड टेस्ट गरिने जनाइएको छ ।
सो लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरा तथा कार्यालय सहयोगी विनोद रोकाया खटिएका छन् । रासस