झापा, ४ वैशाख-प्रदेश १ अन्तर्गतकाे झापामा एक युवककाे र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपाेर्ट पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार हल्दिबारी गाउँपालिका-२ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएकाे हाे ।
जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका ६९ जनाकाे आरडीटी परीक्षण गरेको थियाे । तीमध्य एक युवकमा आरडीटी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फाेकल पर्सन जीवन चाम्लागाईंले जानकारी दिए।
आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही व्यक्तिहरूकाे पनि आरडीटी परीक्षण गरिएको उनले बताए । यद्यपि, परिवारका सदस्य र युवककाे सम्पर्कमा गएका व्यक्तिहरूकाे आरडीटी नेगेटिभ देखिएको छ । पोजिटभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको छ ।
हल्दिबारीस्थित क्वारेन्टाइनमा राखिएका ती युवक ५ चैतमा दुबईबाट घर फर्किएका हुन् । चाम्लागाईंका अनुसार उनमा कोभिड–१९ को लक्षण भने देखिएकाे छैन ।