काभ्रेपलाञ्चोक, २ वैशाख-काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ ।
सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी सोमबार नै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।
धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न सोमबार साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।’ प्रजिअ तिमल्सिनाका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ ।
कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ ।कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ती तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ ।उक्त अपार्टमेन्टमा सोमबार नै सिल गरिएको छ । ५ वटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् । रासस