कञ्चनपुर, ३० चैत-कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ ।सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लकडाउनका कारण काम नपाइँदा समस्या भएको छ ।
मुक्त हलिया हरि दमाईले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाएको बताए । स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँड्दै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन् ।
राष्ट्रिय मुक्त हलिया महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनार देश लकडाउन भएको १९ दिन बितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताए ।
सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अति विपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ ।
धेरै मुक्त हलिया परिवार भोकभोकै बसेको खबर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ ।मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलब्ध गराइदिनसमेत उनले आग्रह गरे ।
लकडाउनको पालनासँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्त हलिया सङ्गठन, मुक्त हलिया अगुवाहरुलाई अध्यक्ष सुनारले आग्रह गरे । सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोबास छ । रासस