कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ ।
बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको अवस्थामा कोरोन फैलिन अनुकूल हुन सक्ने विज्ञले चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार संसारमा करिब ६६ लाख शरणार्थी शिविरमा बस्दै आएका छन् । असंगठित शरणार्थीको संख्या पनि ठूलो छ । राष्ट्रसंघका अनुसार विश्वमा हरेक २ सेकेन्डमा १ व्यक्ति विस्थापित हुनेगर्छ । यही जनसंख्या कुनै पनि महामारीमा सजिलै निशानामा पर्न सक्छ ।
सिरियामा पछिल्लो १ दशकदेखि चलिरहेको युद्धका कारण सिरियाको इदलिबमा टर्कीको सीमावती क्षेत्रमा १० लाख मानिस विस्थापित भएर शरणार्थी शिविरमा बसिरहेका छन् । कोरोनाविरूद्ध लगातार हात धुनेदेखि सामाजिक दूरीलाई प्रभावी कदम मानिएको छ । तर, शरणार्थी शिविरमा यी दुवै कुरा प्रायः असम्भव छ ।
शरणार्थी शिविरमा बस्नेहरू पिउने पानीका लागि समेत कठिनाइको सामना गरिरहेकाले लगातार हात धुने कुरा सम्भव हुँदैन । यहाँका मानिसलाई आइसोलेसनमा राख्नलाई अर्को छुट्टै ‘युद्ध’ छेड्नुपर्ने अवस्था छ । कम स्थानमा रहने लाखौँ मानिसलाई कसरी दूरी कायम गराउने ?
सबैभन्दा खुसीको कुरा भनेकै अहिलेसम्म शरणार्थी शिविरमा कोरोना भाइरस संक्रमण भएको पाइएको छैन । यद्यपि समयमा नै स्वास्थ्य सामग्री पुर्याउन र सतर्कता अपनाउन सकिएन भने १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।
सिरियाका यी क्षेत्रमा कोभिड–१९ नामको अदृश्य ‘शत्रु’ विरूद्ध नयाँ युद्धको तयारी चलिरहेको छ । भग्नावशेषबाट मानिसलाई उद्धार गर्ने विज्ञहरू अब संक्रमणको खतरा अन्त्य गर्ने युद्धका लागि तयार भइरहेका छन् । इदलिबको या शिविरमा कोरोना फैलिएमा अवस्था भयावह बन्न सक्छ ।
यो क्याम्पमा आफ्ना २ बच्चासँगै बस्दै आएकी उम बिलाल भन्छिन्, ‘म र मजस्ता धेरै विस्थापितलाई कोरोना भाइरसले सजिलै शिकार बनाउन सक्छ ।’
उनी भन्छिन्, ‘संक्रमण फैलिएको विषयमा हामीले जे सुनेका छौँ, त्यसबाट क्याम्प प्रभावित हुने चिन्ता छ । हामी अल्लाहसँग प्रार्थना गर्छौं कि हामीलाई यसबाट टाढा राख । हामीलाई कोरोना फैलिने डर छ । किनकि यहाँका मानिसको संख्या धेरै भएकाले सावधानी रहन कठिन छ । हामी आफ्नो टेन्ट सफा राख्न सके पनि बाहिर सफा राख्न सकिँदैन ।’
गत बुधबार इदलिबमा कोरोना परीक्षण किट पुगेको छ । खुसीको कुरा के छ भने अहिलेसम्म गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
इदलिबका डाक्टर तथा मेडिकल कोअर्डिनेटर मोहम्मद तेनारी भन्छन्, ‘यहाँ मानिसहरूलाई आइसोलेसनमा राख्न अत्यन्तै कठिन छ । केही मानिस अझै पनि स्कुल र मस्जिदमा बसिरहेका छन् । यदि कसैलाई कोरोना भएमा भाइरस तीव्र रूपमा फैलिनेछ ।’
यतिबेला इदलिबमा युद्धविराम छ । यदि भाइरसले हमला गर्यो भने विनाशकारी हुन सक्छ ।
बंगलादेशको कक्स बजारमा बस्ने रोहिंग्या शरणार्थी चेकुफा आफ्ना श्रीमान्, दुई छोरी र बहिनीसँग एउटा सानो टेन्टमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘१० परिवारका लागि एक शौचालय र एउटा बाथरूम रहेको छ । जबकि एक ट्युबेलमा ५० परिवार आश्रित छ । यहाँ भाइरस फैलियो भने हामी कसरी बाँच्छौँ ?’
म्यानमारमा भएको तनावका कारण ७ लाख रोहिंग्या मुस्लिम छिमेकी मुलुक बंगलादेशमा शरण लिन आइपुगेका छन् । कोरोना भाइरस फैलिने चिन्ताबीच कसरी यसलाई रोक्ने भन्नेबारेमा अनेक कोसिस भइरहेका छन् ।
सोहीअनुसार बजार बन्द गरिएको छ । मदरसा खोल्न प्रतिबन्ध गरिएको छ । गैरसरकारी संस्थाका मानिसहरू हात धुने तरिका सिकारइरहेका छन्, मास्क वितरण गरिरहेका छन् ।
बंगलादेश संसारको घना बस्ती भएको देशमध्ये एक हो । रोहिंग्या शरणार्थीलाई लिएर बंगलादेश पहिलेदेखि नै चिन्तित रहँदै आएको छ । अब महामारीको डर पनि थपिएको छ ।
बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बंगलादेशका क्याम्पमा कोभिड–१९ का कुनै शंंकास्पद रोगी नभेटिएको बताएको छ । एजेन्सीले ४ सय बिरामीका लागि आइसोलेसन तयार गरेको छ र १ हजार अतिरिक्त बेडका लागि स्थान बनाएको छ ।
यसका साथै बोस्निया, लेबनान र अफ्रिकामा ठूलो संख्यामा शरणार्थी रहेका छन् । कुनै स्थानमा केही राम्रो अवस्था छ भने केही स्थानको अवस्था दयनीय छ । यस्ता क्याम्पमा कोरोना फैलिएमा रोक्न कठिन हुनेछ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संयुक्त राष्ट्रसंघीय निकाय र केही देशका सरकारसँग मिलेर यस्ता मानिसको सहयोगका लागि काम गरिरहेको बताएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयमा पब्लिक हेन्थ रिसर्चर एडम काउट्सले भने, ‘यदि हामी अमेरिका र युरोपमा कोरोना मुद्दा यति ठूलो भइरहेको छ । तर, शरणार्थी क्याम्पका बारेमा सोचिरहेका छैनौंँ । मानिसहरूले आफ्ना बच्चालाई नुहाउन त सकिरहेका छैनन्, हात धुनुको कुरा छोडौँ ।’