सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधन बन्द गर्ने घोषणा गरेका थिए । सरकारले लामो दूरीमा सञ्चालन हुने सवारी बन्द गर्ने निर्णय थोरै दिन अगाडि मात्रै गरेकाले उपत्यका छाड्नेलाई समस्या देखिएको छ ।
उपत्यका छाडेर जान चाहनेले टिकट नपाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले दुइ दिन मात्र समय दिएर लामो दूरीको यातायात बन्द गर्ने घोषणा गरेकाले टिकट नपाएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले एकैचोटि धेरै यात्रु बाहिरिन चाहेकाले केही समस्या आएको बताएका छन् । ‘यो संकटको बेला हो, सबैले मिलेर काम र समाधान गर्नुपर्छ,’ उनले राजधानीसँग भने ।
सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामस्वरूप यातायात क्षेत्रलाई सहज बनाउन सार्वजनिक सवारीका रुट इजाजत खुला गरिसकेको छ । रुट खुला गरिएसँगै अब एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउनेछन् ।राजधानी दैनिकबाट