सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
एसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे थियाे । बिहीबार देशभरका १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी मानसिक रूपमा तयार भएर बसेका थिए । अन्य सबै खालका तयारी सकेर विद्यार्थी परीक्षाको प्रतिक्षामा थिए ।
अन्तिम समयमा आएर परीक्षा राेकिँदा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षाका, विद्यालय सबै अन्योलमा परे । सराेकारवालाले सरकारकाे याे निर्णयलाई ‘अपरिपक्व’ भनेका छन् । केही महिना अघिबाटै काेराेना भाइरसकाे त्रास फैलिए पनि सरकारले हिजाेआजै फैलिएजस्ताे गरी परीक्षा स्थगित गरिदिएकाेप्रति अभिभावकलगायत शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिले असन्तुष्टि जनाएका हुन् ।
कोरोना भाइरसले विश्वमा आतंक मच्याउन थालेपछि शिक्षासँग सरोकार राख्ने निकाय र व्यक्तिहरूले परीक्षा स्थगित गर्नुपर्ने बताउँदै आएका थिए । उनीहरूले सरकारकाे ध्यानाकर्षण पनि नगराएका हाेइनन् । तर, त्यतिबेला सरकारले खासै वास्ता गरेन ।