एजेन्सी, पुस २२–इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख मानिस सहभागी भएका छन् । अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका सुलेमानीको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् । इरानको राजधानी तेहरानमा सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीको नेतृत्वमा उनको सोमबार अन्तिम बिदाई गरिएको छ । सुलेमानी इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकाले शुक्रबार हवाई आक्रमण गरी इराकको राजधानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गरेका सुलेमानीको हत्या गरेको थियो । अमेरिकाले ‘आतंककारी’ भन्ने गरेको सुलेमानीलाई इरानले राष्ट्रिय नायकका रुपमा लिने गरेको थियो । अमेरिकाले सुलेमानीको हत्या गरेपछि ‘कठोर बदला’ लिने चेतावनी इरानले दिइसकेको छ ।