विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरू भएको छ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीको आयोजना उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले प्रतियोगिताको उद्घाटन गरेकी छन् । उनले प्रतियोगिताको उद्घाटन गर्दै महानगर सधैं खेल र खेलाडीहरुको विकासका लागि काम गरिरहेको बताइन् । खेलकुद क्षेत्रको विकासका लागि महानगरले विभिन्न खेलका योजना बनाएको बताइन् । पछिल्लो समय खेलकुद क्षेत्रले ठूलो फड्को मार्दै गएको र खेल व्यवसायी बन्दै गएको हुँदा खेलाडीहरुले विगतका जस्तो आर्थिक संकट झेल्नु पर्ने अवस्था टर्दै गएको उनले बताइन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, विराटनगर वडा नम्बर ४ का वडाध्यक्ष जितेन थापा, १९ नम्बरका वडाध्यक्ष श्याम घिमिरेलगायतले शुभकामना दिएका थिए ।
महानगरभित्रका डोजाङ, क्लब र विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल चरणका खेल शनिबार हुने छन् ।
प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले महिला र पुरुषको एकल स्पाइरिङको पहिलो चरणको खेल सकिएको र शनिबार फाइनल राउण्डको खेल हुनेछ । महिला २० केजीदेखि ६० केजीसम्म र पुरुष २० केजीदेखि ६५ केजीसम्मको फाइनल खेल हुनेछ ।
महिला र पुरुषको एकल प्याटनका इभेन्ट शनिबार हुनेछ । प्रतियोगितामा १ सय ५ जना महिला तथा पुरुष खेलाडीहरुले भाग लिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता आयोजना गर्दा करिब २ लाख ५० हजार खर्च हुने संयोजक श्रेष्ठले बताए ।