विराटनगर । उद्योग,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीलाई एकिकरण गरेर दरिलो बनाउन आबश्यक भइसकेको बताउनुभएको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा आज विराटनगरमा आयोजित सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएका अवसर, चुनौति र समाधानहरू विषयक अन्तक्र्रिया गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री खत्रीले सहकारीको एकिकरण आबश्यक रहेको बताउनुभएको हो ।
मन्त्री खत्रीले धेरै संख्यामा सहकारीहरू हुँदा धेरैखालका समस्या देखिएको र नियमनसमेत चुस्त रुपमा हुन नसकेका कारण सहकारीहरूलाई एकिकरण गरेर सवल र बलिया सहकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरू बचत र ऋणमा मात्रै केन्द्रित हुने प्रवित्तीले सहकारीका सदस्यहरूको आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको धारणा राख्नुभयो ।
उहाँले सहकारीहरू कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्न केन्द्रित हुनेपर्ने बताउनुभयो । कृषि उपजको उत्पादन,प्रशोधन र बजारीकरणमा सहकारीहरूले ध्यान दिए कृषि उपजको पर निर्धरता हट्ने र व्यापार घाटा कम गर्न पनि मद्दत पुग्ने खत्रीले बताउनुभयो ।
कार्यक्रममा आइ टि बिज्ञ डा भोजराज घिमिरे,अर्विन्द्र प्रधान प्रदेश रजिष्टारको कार्यालय इनरुवाका अधिकृत मनोज कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा उत्कृष्ट सहकारी संस्था,सहकारीकर्मी र कर्मचारीहरुलाई पुरस्कृत,तथा सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुलाई उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री,प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्री लगायतले दोसल्ला ओडाएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।