विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेर युवाहरूको समूहले रथयात्रा निकाल्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरको गौरवको रूपमा रहेको परम्परागत पहिचान बोकेको ऐतिहासिक रथयात्रा निस्किने गरेको थियो । कोभिड १९ को कारण देखाउँदै विगत दुई वर्षदेखि राधाकृष्ण रथयात्रा निस्कन छोडेको थियो । यस पटकको रथयात्रा स्वास्थ्य मापदण्डको पालना गरेर निकाल्नुपर्ने र कोभिडको बहनामा कुनै पनि हालत रोक्न नहुने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको विराटनगरका युवा दीपेश धिमालले बताए ।