नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् ।
आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले भने, ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ ।’
यो समितिको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि विरोध गरेको छ ।
कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु उचित होइन ।’