सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागेको हो ।
विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा विस्तृत विवरण संकलन गरिने भएको छ । अहिले सरकारसँग वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर गएका नेपालीको मात्रै संख्या भएपनि अन्य नेपालीको संख्या यकिन छैन ।
स्वदेश र विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यको विस्तृत विवरण संकलन गरिने र उनीहरुलाई कुन-कुनमा देशमा छन् भनेर सोधिने जनाइएको छ ।
२०६८ को जनगणनामा विदेशमा १९ लाख २१ हजार जना रहेको तथ्यांक छ । विभागले जनगणनामा सहभागी हरेक मानिसको गोपनीयताको हकलाई कानुनी रूपमा सुरक्षित गरेको भएकाले ढुक्क भएर विवरण दिन आग्रह गरेको छ ।
विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय जनगणना निर्देशक समिति गठन भएको छ । आयोगका उपाध्यक्षको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव, तथ्यांक विभागका महानिर्देशक र विश्वविद्यालयका जनसंख्या विभाग सदस्य छन् ।