काठमाडौं, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ ।
लेनदेन मुद्दाका प्रतिवादी अध्यक्ष मल्ललाई पक्राउ गर्न भन्दै गत ३१ साउनमा पर्वत प्रहरीलाई अदालतले पत्र लेखेको हो । गाडी खरिदबापत आफूलाई दिनुपर्ने बाँकी रकम नदिएको भन्दै अटोमोबाइल व्यवसायी ध्रुवबहादुर थापाले अध्यक्ष मल्लविरुद्ध गत वर्ष मुद्दा हालेका थिए । त्यसमा अदालतले अध्यक्ष मल्ललाई पक्राउ गर्न गत वर्ष २७ चैतमा आदेश दिएको थियो ।
अदालतले मल्ललाई ६ महिना कैद सजाय सुनाउँदै जिल्ला कारागार कास्की चलान गर्न आदेश दिएको थियो । त्यही आदेशअनुसार अध्यक्ष थापालाई पक्राउ गर्न अदालतले पर्वत प्रहरीलाई पत्र लेखेको हो । पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीले अध्यक्ष मल्लको खोजी भइरहेको बताए । ‘हाम्रोमा हिजो अदालतको पत्र आएको छ । उहाँको खोजी भइरहेको छ,’ उनले शिलापत्रसँग भने ।
अध्यक्ष मल्ल नेपाली कांग्रेसबाट गत २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । मल्ल हाल कांग्रेसको जिल्ला समितिमा कोषाध्यक्ष छन् । अध्यक्ष मल्लविरुद्ध मुद्दा हालेका थापाले भदौ अन्तिममा हुने अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।