काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गर्नुभएको थियो । भारतमा रहेका आफ्ना सहपाठीले पठाएको भन्दै उहाँले दूध चढाइरहेको तस्वीरमाथि ‘विश्वास खतरनाक चिज हो, यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ भन्दै उक्त तस्वीर शेयर गर्नुएको थियो ।
भट्टराईको सो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। भट्टराईको अभिव्यक्ति हिन्दु धर्मावलम्बीको आस्थाविरुद्ध भएको उहाँहरूको टिप्पणी छ।