काठमाडौं, जेठ १९ । पार्टी बिरुद्ध निरनतर अभियान नछाडेपछि निश्काशनमा पर्नुभएका एमालेका पूर्वबरिष्ठ नेता माधव नेपालले जसरी प्नि अलग पार्टी बनाएर माओवादीसँग बिलय गराउने योजना बनाएपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन । विभाजन रोक्न दोस्रो तहका नेताहरुले गृहकार्य गरिरहेका बेला एमाले महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाउनुभएको छ ।
यसै क्रममा महासचिव पोखरेलले आज योगेश भट्टराईसँग छलफल गर्नुभएको छ । विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा महासचिव पोखरेल र भट्टराईबीच छलफल भएको हो । भट्टराईलगायत केही नेता नेपाल निकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत हुनुभएकाले उहाँहरु एकताका लागि अग्रसर हुनुभएको छ । महासचिव पोखरेलले गत महिना नेता नेपालसँग र भीम रावललगायतसँग अलगअलग भेटवार्ता गरी पार्टी विभाजनमा नलान आग्रह गर्नुभएको थियो । त्यसैको निरन्तरतामा उहाँ थप सक्रिय हुनुभएको जनाइएको छ ।
दुवै नेताबीच एमालेको एकता जोगाएर जानका लागि हदैसम्मको लचकता अपनाउने सहमति भएको छ । भट्टराईसँगको छलफलका क्रममा महासचिव पोखरेलले पार्टीबाट अलग भएर जाँदा कसैलाई पनि फाइदा नहुने भन्दै कांग्रेस र माओवादीको चक्रब्यूँहमा परेर एमालेका कोही नेताले पनि आत्महत्याको बाटो रोज्न नहुने तथ्य राख्नुभएको स्रोतले जनताटाइम्सलाई बतायो । यस्तै भट्टराईले पनि पार्टी बिभाजनमा जाने घातक कदम माधवले उठाए आफै सकिने भन्दै एकताका लागि आफूहरु अन्तिम क्षणसम्म लाग्ने बताउनु भएको छ ।
नेताहरुको अनौपचारिक परामर्श जारी रहेकै कारण आज दिउँसो ४ बजेका लागि डाकिएको एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बार्ता जारी रहेको र परिणाम आउने अपेक्षासहित बैठक सारिएको जानकारी दिनुभयो । केहीदिन यता संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपाल समुहबाट भट्टराईसहित सुुरेन्द्र पाण्डे घनश्याम भुसाल र गोकर्ण विष्टबीच निरन्तर एकताको गृहकार्य भइरहेको छ । एकता कायम राख्नकै लागि एमालेले मङ्गलबार स्थायी कमिटी बैठकबाट पार्टीलाई विभाजनमा लान नदिन अनुशासनहीन गतिविधि नरोकिएको स्थितिमा पनि पार्टी अन्तिम समयसम्म हदैसम्मको लचकताका साथ पहल गर्ने निर्णय गरेको थियो ।
पार्टीको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको गत वैशाख ३० र जेठ २ गतेको भेटवार्ता र सहमतिका आधारमा १० सदस्यीय कार्यदलले काम अघि बढाएको थियो । तर नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेपछि कार्वाहीमा पर्नुभएको हो । सोही कारण नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जनालाई जेठ १० गतेको पार्टीको स्थायी कमिटीको बैठकले साधारणा सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित थप १२ जना नेतालाई स्पष्टीकरण सोधेकामा कुनै जवाफ आएको छैन भने त्यसलाई बैठकमा निर्णयार्थ प्रस्तुत पनि गरिएको छैन । एकताकै लागि एमालेले यस्तो निर्णय लिएको हो ।