सरकारले केन्द्रीय कारागारका २ हजार ७ सय ३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।
केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले ३ हजार ३ सय ३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा ३ हजार ७ सय ३ कैदीबन्दीलाई कोरोनाविरुद्धकाे खोप प्रदान गरिएको जानकारी दिए । ‘कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र बिरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोनाविरुद्धकाे प्रदान गरेका छौँ,’ राईले भने ।
वि.सं. १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको छ ।
मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना संक्रमण देखिएको थियो । तीमध्ये कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको सूचना अधिकारी राईले बताए । रासस