नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् ।
प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आज देखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउँनेछौं भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने वकालत हामीले गर्नेछौं । मेरो जीत भनेको सम्पूर्ण व्यवसायी साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’
महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।
यस्तै एसोसिएटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिएका छन् । उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।
जिल्ला नगर तर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैंमा सबल र सक्षम बनाउनुका साथै व्यवसायिक ज्ञान वृद्धि लगायतमा आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उनले उल्लेख गरे ।
वस्तुगत तर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए ।
उनले भने, ‘कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबैभन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सीमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो ।’ महासंघमा वस्तुगततर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसिएटतर्फ ९ सय ३ मतदाता थिए ।