एजेन्सी, ५ मंसिर-राष्ट्र बैंकको निर्देशनअनुरुप बैंकहरूले कोरोना प्रभावित ऋणीहरूलाई ऋण नतिरे पनि कालो सूचीमा नराख्ने सहमति गरे पनि कार्यान्वयन भने गरेका छैनन् ।
कालो सूचीमा नराख्नू भने पनि एक महिनामा नै बैंक तथा वित्तीय संस्थाहरूले ३ सय ८५ भन्दा बढी ऋणीलाई समयमा किस्ता नतिरेको भन्दै कालो सूचीमा राख्न कर्जा सुचना केन्द्रलाई सिफारिस गरेका छन् ।
कर्जा सूचना केन्द्रका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत कात्तिक महिनामा मात्र ३ सय ८५ जनालाई कर्जा समयमै चुक्ता नगरेबापत तथा बैंकको कर्जा नियम पालना नगरेबापत कालो सूचीमा राखेका छन् ।
केन्द्रका अनुसार ३ सय ८५ जना ऋणीमा ३ सय जना ऋणीले कर्जा समयमा नै नतिरेको कारण कालो सूचीमा राख्न बैंक तथा वित्तीय संस्थाले केन्द्रलाई सिफारिस गरेका छन् ।
कोरोनाका कारणले अर्थतन्त्र ठप्प भएको भन्दै बजेटमा उद्योग व्यवसायहरूलाई राहतको प्याकेजस्वरुप ऋणको भुक्तानी अवधि लम्ब्याउनुका साथै पुनर्कर्जाको समेत व्यवस्था सरकारले गर्याे । तर व्यक्तिगततर्फ ऋणीहरूलाई भने कुनै राहत नहुँदा अहिले ऋणीहरू किस्ता नतिरेकै कारण बैंकको कालो सूचीमा पर्न थालेका छन् । कालो सूचीमा पर्नेहरूमा व्यावसायिक कर्जा लिएका १ सय ४५ जना र व्यक्तिगत कर्जा लिएका २ सय ४० ऋणीहरू छन् ।
पछिल्लो समय ऋणीहरूलाई ऋण तिर्न बैंकहरूले दबाब दिन थालेको गुनासो बढेसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई त्यसो नगर्न निर्देशन दिएका थिए । तर बैंकहरूले भने कोरोना प्रभावितबाहेक अरु ऋणीबाट मात्रै ऋण असुल गरेको बताउँदै आएका छन् । यद्यपि कालो सूचीमा पर्नेको संख्या हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको ऋण असुलीमा बैंकहरूले नरम हुनुपर्ने नीति नमानेको देखिन्छ ।
यसै विषयमा गभर्नर अधिकारी भन्छन्, ‘कोभिडबाट प्रभावित व्यवसायी तथा ऋणीलाई कालो सूचीमा राख्न र धितो लिलाम नगर्न हामीले निर्देशन दिएका छौँ,’ ती ऋणीबाट सावाँब्याज भुक्तानी लिँदा पनि बैंकले ग्राहकको अवस्था हेरेर मात्र व्यवहार गर्न निर्देशन दिएका छौँ । तर पनि गुनासो आउने क्रम घटेको छैन । बैंक तथा वित्तीय संस्थाले ऋण असुलीलाई अझ तीव्र पारेका छन् ।’
अधिकारीले राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेर जबर्जस्ती ऋणीबाट ऋण असुल गर्ने, कोरोनाबाट प्रभावित भएको थाहा हुँदाहुँदै धितो लिलामी गर्ने तथा ऋणीलाई कालो सूचीमा राख्ने हर्कत बैंकहरूले नछोडे कारबाहीकाे दायरामा ल्याइने बताए ।
राष्ट्र बैंकले ऋणीहरूप्रति लचिलोपन अपनाउनुपर्ने भन्दै कोभिड महामारीका कारण बैंक तथा वित्तीय संस्थालाई परेको कठिनाइलाई राष्ट्र बैंकले सम्बोधन गर्ने प्रतिवद्धता जनाए पनि बैंक तथा वित्तीय संस्थाहरूले लिलामी र कालो सूचीमा राख्न छोडेका छैनन् ।