यही २३ भदौसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा. लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले ५ महिनादेखि भत्ता नपाएको बताए ।
डा. पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए । ‘हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौँ’, उनले भने, ‘सरकार आफैँले कोरोना सङ्क्रमणविरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौँ । बाध्य भएर आन्दोलनमा उत्रिनु पर्यो ।’
उनका अनुसार उनीहरूको माग सुनुवाइ नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश- १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।
उनले प्रक्रिया पुर्याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने, ‘सायद अब चाँडै आउँछ होला । आउनेबित्तिकै उहाँहरूको मागको सम्बोधन हुन्छ ।’
यता, अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए । – रासस