काठमाडौं, ७ साउन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए ।
विमानस्थलमा डिपार्चर र अराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमानस्थललाई सुचारु गरिने उनको भनाइ छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई १ भदौदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ ।
तर, विमानस्थलले १ भदौपछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए ।
अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा ४ घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । सामान्य अवस्थामा आफ्नो उडान समयभन्दा ३ घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताए ।