पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड गरेको आरोपमा पक्राउ परेका ९ जनामध्येका ३ जनालाई जिल्ला प्रहरी कार्यलय कास्कीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको हो ।
यही असार ११ गते स्थानीयले पोखरा महानगरपालिका-३२ स्थित मझुवामा स्याङ्जाको आँधीखोला गाउँपालिका पञ्चमूल घर भएका व्यक्तिको कोरोना अस्पतालमा मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा स्थानीयले ढुंगामुढा गरेका थिए ।
नियन्त्रणमा लिएका मध्ये पोखरा ३२ का भीमराज गुरुङ, रीतबहादुर गुरुङ, र उदयपुर घर भई तनहुँ शुक्लागण्डकी २ बस्ने फत्तबहादुर राईविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दाको प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले जानकारी दिए ।