काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन्। तयस्तै ३३ बच्चा नेपाल आएका छन् । यही अवधिमा नेपालबाट भने १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् ।
बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो आजसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महिनामा चार्टड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ ।
निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तरराष्ट्रिय उडान गरेको छ । अन्तरराष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टड उडान गरेका छन् । बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तरराष्ट्रिय उडान गरेको छ ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाँझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तरराष्ट्रिय उडान गरेको जनाएको छ । निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइड बडी र दुई न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै आठ उडान गरेका छन् ।
निगमको न्यारो बडी एयरबस ए ३२० जहाजले बहराइनमा दुई, हङकङ दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ । असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तरराष्ट्रिय उडान भएको छ ।