काठमाडौं, १० असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता प्रदान गर्ने विषयमा महिला र पुरुषबीच विभेद नगर्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक संजाल ट्विटरमार्फत उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको उल्लेख गर्दै महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गर्न सत्तारूढ दलसँग आग्रह गरेका हुन् ।
उनले छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने बताउँदै समानताको अवधारणा–मर्मअनुरूप नागरिकता विधेयक अघि बढाउन नेकपासँग माग गरेका छन् ।
नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन’ उनले भनेका छन्,’यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्मअनुरूप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’