काठमाडौं, १० असार-कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२ जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन् ।
हालसम्म कुवेतबाट १ हजार ६ सय ५२, यूएईबाट १ हजार ३ सय ८५, ओमानबाट ३ सय १३ जना, जापानबाट २ सय ४८, अष्ट्रेलियाबाट २ सय ८७, बंगलादेशबाट ८ सय १५, म्यानमारबाट २६, हङकङबाट १७, श्रीलंकाबाट ५, थाइल्याण्डबाट २ सय ४८ जना, साउदीबाट ५ सय १२ र कतारबाट २ सय ९२ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै, माल्दिभ्सबाट ३ सय २७, कोरियाबाट २ सय २८ जना, मलेसियाबाट ६ सय १५ जना, सिंगापुर र कम्बोडियाबाट संयुक्तरूपमा १ सय ४६ जनाको पनि उद्धार गरेर नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार मात्र ९ हजार अलपत्र नेपाली स्वदेश फर्किएका छन् । यसरी फर्किएका नागरिक सरकारले तय गरेको हवाइ खर्च तिरेर आइरहेका हुन् । तत्काल विदेशबाट करिब १७ हजार अलपत्र नेपालीको उद्धार गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोनाका कारण समस्यामा परेका करिब २४ हजार नागरिक फर्काउनुपर्ने तथ्यांक सार्वजनिक गरेको थियो । जसमा हालसम्ममा ७ हजार नागरिकको मात्र उद्धार भएको छ ।
बुधबार विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउनका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान तय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार विभिन्न ५ देशबाट समस्यामा रहेका नेपाली लिएर जहाज काठमाडौं आउने छन् भने ५ ठाउँमा नेपालीलाई लिन जहाज जाने छन् ।
बुधबारका लागि १० वटा उडान तय भएको विमानस्थले जनाएको छ । यी उडानमार्फत् साउदीको दमामबाट १ सय ५४ जना, यूएईमा समस्यामा परेका १ सय ५४ जना, कुवेतबाट पनि झण्डै १ सय ६० जना र इस्तानबुलबाट २ सय ८० जनाको उद्धार गरिने विमानस्थलले जानकारी दिएको छ ।