एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ ।
यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । देशको आर्थिक परियोजनाका विषयमा छलफल भएको पार्टी पोलिट्ब्युरोको बैठकमा नेताहरुले सामाजिक दुरी कायम गरेको देखिएको छ ।
पोलिटब्युरोको बैठकका जारी भएका तस्बिरअनुसार किम जोङ उन बस्ने स्थान नजिकै राखिएका कुर्सी हटाइएको छ । यसअघि किम गम्भीर रुपमा बिरामी भएको र कतिपयले मृत्युसमेत भएको हल्ला फैलाएपनि उनी केही समयपछि बाहिर आएका थिए । तर सामाजिक दुरी कायम गरिएको आधारमा उत्तर कोरियामा भनिएकोजस्तो कोरोना त्रास भने नरहेको भन्न नसकिने दाबी गरिएको छ ।
पोलिटब्युरोको सो बैठकमा किम जोङ उनले घरेलु आर्थिक संकटमाथि चर्चा गरेपछि देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र जनताको जीवनस्तर सुधार्ने विषयमा छलफल भएको थियो ।
उनले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि रासायनिक उद्योगलाई तत्काल पुनर्जीवित बनाउनुपर्नेमा जोड दिएका छन् । १३ औं राजनीतिक व्युरोको सो बैठकमा किमले प्राथमिकताको आधारमा मल उत्पादन बढाउनु देशको अर्थव्यवस्थाका लागि आवश्यक भएको बताए । किमको स्वास्थ्यबारे अनेक अट्कलबाजी भइरहेका बेला उनी १ मेमा एक मल उद्योगको उद्घाटन गर्दैै सार्वजनिक भएका थिए ।